चैत २७ को राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

काठमाडौँ । राप्रपाले काठमाडौँमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बर्दियास्थित मधुवन नगर समितिको अध्यक्ष समेत रहेका डाँगी श्वासप्रश्वासका दीर्घरोगी थिए ।

प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

डाँगीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार मध्याह्न १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने प्रवक्ता श्रेष्ठले बताए । सरकारले ४० बुँदे माग पूरा नगरेको भन्दै राप्रपाले चैत २७ गते भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले प्रदर्शनमा उत्रिएकाहरूमाथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो । उक्त प्रदर्शनमा ३० जनाभन्दा बढी मानिस घाइते भएको राप्रपाले बताएको छ ।