घरमा एक्कासी आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

काठमाडौँ । अछाममा आगलागीमा परि आज बिहान दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ बस्ने खम्म बोहोराको खरले छाएको घरमा एक्कासी आगलागी हुँदा रमेश बोहोराका ६ वर्षीय छोरा गोपाल बोहोरा र दिपक बोहोराकी ८ वर्षीय छोरी भावना बोहोराको जलेर मृत्यु भएको हो ।

वडा नं ६ का वडा अध्यक्ष तिलक कडायतका अनुसार खरले छाएको छानामा अचानक सल्केको आगोमा परि ती बालबालिकाको मृत्यु भएको हो ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी चौकी मेल्लेखबाट प्रहरी सहायक निरीक्षक नरेन्द्र कुमार खडकाको कमाण्डमा–२ जनाको टोली गएको अछाम प्रहरीले जनाएको छ । उक्त स्थान प्रहरी चौकी मेल्लेखबाट करिब १० किलो मिटर दुरीमा रहेको छ ।