चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा १ लाख पर्यटक, १० करोड राजस्व संकलन

काठमाडौँ - चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा वाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन् ।

विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो ।
यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् । 

यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिश्रृप तथा उभयचर, बसार्इंसरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन् ।