'युवा विदेश पलायन भए भन्दै सदनमा आदर्श छाट्ने नेताका छोराछोरी विदेशमै छन्' : कांग्रेस नेता थापा

काठमाडौँ - नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रो जस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताएका छन् ।

उनले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भए पनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गरे । भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा २४ हजार दुई सय ३९ मतका साथ उनी विजयी भएका थिए ।

वडा, प्रदेश र सङ्घका जनप्रतिनिधि तथा कार्यपालिकाको काम र जिम्मेवारी फरक फरक हुनुपर्ने भए पनि हामीकहाँ सबै जनप्रतिनिधि सबै किसिमका जिम्मेवारीमा व्यस्त हुन रुचाउने गरेको आफूले पाएको उनले बताए । 

जनताको अपेक्षा पनि कानुनले निर्धारण गरेकोभन्दा फरक हुने गरेको उनले अनुभव सुनाए । कांग्रेस भक्तपुरका सभापति समेत रहेका सांसद थापाले भने, ‘मैले सदनमा पहिलो दिन उपस्थित भएर शीर्ष नेताको सम्बोधन सुनेपछि त झन सांसदभन्दा म वडाअध्यक्ष लड्नुपर्ने रहेछ माननीय भइन्छ भन्ने लाग्यो ।’