निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड

 काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिएका छन् । 

‘नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाडौं उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरेको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताएका छन् । 

राष्ट्रपति पौडेलले चाडपर्व र यस खालका असल परम्पराले नेपाली समाजलाई सभ्य र सहिष्णु बनाउँदै लगेको उल्लेख गर्दै साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् मौलिक राष्ट्रिय संवत् रहेको बताएका छन् । 

यस संवत्को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ । यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत स्थानहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।

राष्ट्रपति पौडेलले नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास गर्दै स्वदेश तथा विदेशमा रहे सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।