लोकतन्त्रमा आधारित समाजवाद आवश्यक रहेको छ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा आधारित समाजवाद आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुशीपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताए। 

उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।  उनले भूमिगतकालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको स्मरण गर्दै अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको दावी गरे।

उनले कांग्रेसले अध्ययन गर्न छाडिसकेको भन्दै कम्युनिष्टहरू पनि अध्ययनमा रुची राख्न छाडिसकेको बताए। उनले वैकल्पिक शक्तिहरुले अध्ययनमा केही मेहनत गरे पनि अरण्य रोदन जस्तो हुने गरेको बताए।