भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्ने दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा भ्रष्टाचारका काण्ड सुन्न नपर्ने बताएका हुन्। उनले आफूले नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहेको पनि बताए।

उनले सरकारबाट दिने सेवा उत्साहका साथ दिइने पनि प्रतिबद्धता जनाए। उनले फाइल रोकेर एक ठाउँमा बस्ने कुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर अड्कियो भन्ने कुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताए। उनले त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको बताए।

प्रधानमन्त्री कार्यालयले त्यसको अनुगमन गर्नसक्ने बताए। उनले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताए।

प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनु नपर्ने, काम गरेबापत कुनै नजराना चढाउनु नपर्ने र कतै भनसुन गर्न जानु नपर्ने बताए।