जेठ महिनाका लागि बैंकहरुले तोके नयाँ ब्याजदर, कुनमा पैसा राख्दा कति पाइन्छ ब्याज ? 

काठमाडौँ - वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशन गरेका छन् । बैंकहरुले भोलि अर्थात् जेठ १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर प्रकाशन गरेको हुन् ।

जेठ महिनामा अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । संचालनमा रहेका मध्ये ९ वटा बैंकले स्थिर राखेका छन्, ८ वटाले घटाएका छन् । बैशाखको तुलनामा दुई वटा बैंकले भने मुद्दति निक्षेपको ब्याजदर बढाएका छन् ।

जेठ महिनाका लागि एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ७.८ प्रतिशत र संस्थागत तर्फ ६.८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । गत बैंशाखमा भने बैंकले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ७.९७ प्रतिशत र ६.०७ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

यस्तै, बैशाख महिनामा सिटिजन्स बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत ब्याज दिएको थियो । तर, जेठ महिनामा भने घटाएर व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ७ प्रतिशत ६ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।

यता, सिद्धार्थ बैंकले पनि जेठ महिनामा ०.२५ प्रतिशत बिन्दुले घटाएर व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत, प्राइमले पनि ०.१ प्रतिशत बिन्दुले घटाएर व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याज दिने भएको छ ।
यस्तै, जेठ महिनाका लागि सानिमाले पनि ब्याजदर घटाएको छ । बैंकले ०.२ प्रतिशत बिन्दुले घटाएर व्यक्तिगत तर्फ ६.९ प्रतिशत र संस्थागत ५.९ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।

त्यसैगरि नबिल बैंक र एभरेष्ट बैंकले पनि ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् । जेठ महिनाका लागि नबिलले व्यक्तिगत मुद्दति तर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत र एभरेष्टले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६.५ प्रतिशत र ५.५ प्रतिशत ब्याजदर तोकेका छन् । यता, नेपाल एसबिआई बैंकले पनि ०.१४ प्रतिशत बिन्दुले ब्याजदर घटाएर जेठ महिनाका लागि व्यक्तिगत मुद्दति तर्फ ६.३९ प्रतिशत र संस्थागत तर्फ ५.३९ प्रतिशत कायम गरेको छ।

यस्तै जेठ महिनाका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेको ब्याजदर भने ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.४ प्रतिशत कायम गरेको छ भने संस्थागत तर्फ भने अघिल्लो महिनाकै ब्याजदर ५.३५ प्रतिशत कायम गरेको छ ।

जेठ महिनाका लागि ९ वटा बैंकले भने ब्याजदर स्थिर कायम गरेका छन् । जेठमा हिमालयन बैंक व्यक्तिगत मुद्दति निक्षेपमा ७.५ प्रतिशत र संस्थागतमा ६ प्रतिशत ब्याज दिने भएको छ। गत बैशाखमा पनि बैंकले सोही ब्याजदर तोकेको थियो । यस्तै, प्रभु, कुमारी, माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, नेपाल बैंकले पनि ब्याजदर यथावत राखेका छन् । यी बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका हुन् ।

जेठमा प्रभु बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थाग तर्फ ६.५ प्रतिशत, कुमारीले व्यक्तिगत तर्फ ७.२६ प्रतिशत र संस्थागत तर्फ ६.२६ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ७.२५ प्रतिशत र ५.५ प्रतिशत, चार्टर्डले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगतमा ७ प्रतिशत र संस्थागतमा ६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।