मोदी इनर्जीको आईपीओ बाँडफाँड, तपाईको भागमा कति ? 

 काठमाडौँ - मोदी इनर्जीको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले बिहान १०ः३० बजे आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको उक्त आइपिओमा १२ लाख ३६ हजार २६९ आवेदकबाट १ करोड ३५ लाख ४ हजार ३० कित्ताको लागि आवेदन दिएका छन् । यस आइपिओमा माग भन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथामार्फत बाँडफाँट भएको हो। जसमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।  यो आईपीओमा करिब ६ लाख ६८ हजार ५१५ आवेदकको हात खाली भएको छ ।

कम्पनीले गत वैशाख १९ गतेदेखि वैशाख २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले कुल कित्तामध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिसकेको थियो ।

कम्पनीले ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । स्थानीयलाई बाँडफाँडपछि बाँकी रहन गएको २० लाख ९५ हजार ६१० कित्ता र सर्वसाधारणका लागि बाँकी रहेको ३४ लाख ६३ हजार ८१० कित्ता गरी कुल ५५ लाख ५९ हजार ४२० कित्ता सेयर बिक्री खुला गरिएको थियो ।