काठमाण्डौँ - चालू आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ रुपैयाँ लाख बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालूगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ ।
चालू शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म ७ खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख बराबर खर्च भएको छ ।
पुँजीगत शीर्षकमा ३ खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर वार्षिक विनियोजन भएकोमा वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ३७ दशमलव ०४ प्रतिशत अर्थात् रु एक खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च भएको छ । त्यसैगरी, वित्तीय व्यवस्था शीर्षकमा ६२ दशमलव ६ प्रतिशत खर्च भएको छ ।
यो शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा १ खर्ब ९२ अर्ब ४५ लाख २२ हजार बराबर खर्च भएको हो ।