सवारी चालक अनुमतिपत्र दिने परिपाटी नै गलत छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट (सडकमा प्रयोगात्मक अभ्यास) नगरी ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) दिने परिपाटी नै गलत भएको दाबी गरेका छन् ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाल नेपालमा लिखित परीक्षा र ट्रायल सेन्टरभित्र गरिने प्रयोगात्मक परीक्षणबाट उतीर्ण हुनेलाई ड्राइभिङ लाइसेन्स दिने गरिएको छ । म त भन्छु रोड टेष्ट नगरीकन ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ । त्यो परिपाटी ठीक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ ।’

ड्राइभिङ सेन्टरभित्र गरिने सामान्य प्रयोगात्मक परीक्षणको भरमा लाइसेन्स दिँदा चालकहरु दक्ष नहुने उपप्रधानमन्त्री लामिछानेले बताए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सचेतना अभियान एक सातासम्म चल्नेछ । अब ट्राफिक प्रहरीको बोली नरम र कारबाही कडा हुने उल्लेख गर्दै लामिछानेले दुर्घटना सङ्ख्यालाई पनि कार्य सम्पादकको विषय बनाउने बताए । उनले भने– ‘नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजानुपर्छ ।’