आइसिसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई हरायो

 काठमाडौँ - आइसिसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । वर्षाको कारण अवरुद्ध खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले पराजित गरेको हो ।

नेपाल यू– १९ विश्वकपको समूह ‘डी’ मा छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो ।


समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन् ।

जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु १९ विश्वकप क्रिकेटमा सहभागी हुन जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिम एक साताअघि दक्षिण अफ्रिका पुगेको हो। यू १९ टिममा राष्ट्रिय टिमका अल्राउन्डर गुल्सन झालेसमेत सहभागी छन्।