जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु

महेन्द्रनगर - जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै आएको छ ।

सप्ताहव्यापी रामजानकी विवाह महामहोत्सवको पहिलो दिन आज नगरदर्शन भइरहेको छ । गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार मिथिला नरेश राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम भगवान् रामले धनुष तोडेर पूरा गरेकाले जानकीको विवाह उनीसँग भएको थियो । यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापीरुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री किनमेल गरिएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।