'सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहन्छ' : प्रधानमन्त्री दाहाल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन् । 

प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश दिँदै नेपालीहरूको महान् पर्व शुभ दीपावलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

नेपाली जनताको ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधिनता र स्वाभिमान उच्च राख्न हामीलाई ठूलो आधार प्रदान गरेको उनले उल्लेख गरेका छन् । 

“तिहारलगायत पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्वपूर्ण सन्दर्भसमेत हुन्। यस पर्वले पारिवारिक पुनःमिलन, सामाजिक सद्भाव र एकता एवं राष्ट्रिय स्वाधिनता बलियो बनाउँछ। उत्पादन, श्रम, सूचना र सामाजिक रक्षकको भूमिका निर्वाह गर्ने पशुपक्षीको योगदान र मानवसँगको अन्तरक्रिया प्रगाढ बनाउँछ। देउसी भैलो लगायतका सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँछ”, प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।