नयाँ स्टक एक्सचेञ्जको काम अन्तिम चरणमा आएर रोकिएसँगै अन्योलता 

 काठमाडौँ - नयाँ स्टक एक्सचेञ्जको काम अन्तिम चरणमा आएर रोकिएसँगै अन्योल बढेको छ । पछिल्लो समय निकै चर्चाको विषय बनेको नयाँ स्टकको काम प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनले रोकिएसँगै अन्योल भएको हो ।

धितोपत्र बोर्डको महत्वाकांक्षी लक्ष्यको रूपमा अगाडि बढेको नयाँ स्टकको काम चर्को विवादमा परेपछि प्रधानमन्त्री दाहालले तत्कालका लागि रोक्न निर्देशन दिएका थिए । हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेञ्जले चुस्त काम गर्न नसकेको निष्कर्ष निकाल्दै बोर्डले प्रतिष्पर्धाका लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक भएको दाबी गर्दै आएको छ ।

विगतदेखि नै बोर्डले यसलाई आफ्नो नीतिमा समेटे पनि काम अधि भने बढ्न सकेको थिएन । बोर्डको अध्यक्षका रुपमा नियुक्त भएसँगै रमेश हमालले आफ्नो मुख्य लक्ष्यकै रुपमा नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया अगाडि बढाएका थिए।

हमालले प्रक्रिया अगाडि बढाएसँगै लगानीकर्ताको साथ पनि पाए । तर, अन्तिम समयमा प्रधानमन्त्री दाहालको निर्देशनले नयाँ स्टक एक्सचेञ्जको काम रोकिएको छ। प्रधानमन्त्रीले रोकेको यो कामबारे अर्थ मन्त्रालयले पनि खासै चासो लिएको देखिँदैन ।

मन्त्रालयका एक अधिकारीले भने, मन्त्रिपरिषद्बाट निर्देशन आएपछि रोकिएको हो । यसपछि के कस्तो छलफल भएको छ भन्नेबारे बोर्डलाई नै थाहा होला । बोर्ड अध्यक्ष हमालले सरकारले नयाँ स्टक एक्सचेञ्जको काम किन रोकियो भन्नेबारे कुनै जानकारी नदिएको बताए। यो समाचार कारोवार दैनिकमा छ ।