लागुऔषध कारोबारको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ

काठमाडौँ ।  लागुऔषध कारोबारको आरोपमा पूर्वसांसदसमेत रहेका मेडिकल व्यवसायी डा.ढाकाकुमार श्रेष्ठलाई कास्की प्रहरीले बिहीवार पक्राउ गरेको छ।

श्रेष्ठ पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुन्। कास्की जिल्ला अदालतबाट अनुमति लिई डा.श्रेष्ठलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। 

गएको साउन ३ गते पोखरा-२ बाग्लुङ बसपार्कमा पक्राउ परेका रोल्पाको त्रिवेणी गाउँपालिका-७ स्थायी घर भई पोखरा-४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापामगरले दिया फार्मेसीबाट लागुऔषध किनेको बयान दिएका छन्। उनलाई प्रहरीले ९७ ट्याब्लेट टुपेनसहित पक्राउ गरेको थियो। 

२०७९ को आमनिर्वाचनपछि डा. श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेका थिए। मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा.श्रेष्ठलाई सांसदबाट हटाएको थियो।