फ्लोरिडाको वर्षाले नेपाली क्रिकेट टोलीको वेस्ट इन्डिज उडान रद्द

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूहको अन्तिम दुई खेल्ने वेस्ट इन्डिज जान लागेको नेपाली टोली अमेरिकाको फ्लोरिडामै रोकिएको छ ।

फ्लोरिडाको फोर्ट लडरडेलमा रित्ज कार्टलन रिसोर्टमा बसेको नेपाली टोलीले अमेरिकाको स्थानीय समयअनुसार बुधबार साँझ सात बजेसम्म चार्टर्ड फ्लाइट कुरेको थियो । तर लगातार वर्षा भएपछि नेपाली टोली फ्लोरिडामै रोकिएको हो ।

वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका छ । भारी वर्षाका कारण मंगलबार श्रीलंका र नेपालबीचको खेल पनि रद्द हुन पुगेको थियो । खेल रद्द हुुँदा दुवैले अंक बाँडेका थिए ।

नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

अमेरिकाको दक्षिणी क्षेत्र फ्लोरिडामा भारी वर्षा भइरहेकाले सचेत रहन अमेरिकी सरकारले सूचना जारी गरेको छ । यो साताको अन्तिमसम्म वर्षा जारी रहने सम्भावना भएकाले फ्लोरिडा लगायत क्षेत्रमा आँधिबेहेरीसहित बाढी आउन सक्ने समेत सचेत गराएको छ ।