राष्ट्रिय ढुकुटीमा १४ अर्ब ३६ करोड अमेरिकी डलर सञ्चित, एक वर्षको आयात धान्ने 

काठमाडौँ - विदेशी मुद्राको सञ्चिति १९ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको ९ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउनदेखि चैत मसान्तसम्म आइपुग्दा विदेशी मुद्राको सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जुन गत असार मसान्तसम्मको तुलनामा भने २४.२ प्रतिशत बढी हो । गत असार मसान्तसम्ममा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ अर्ब रुपैयाँ रहेको थियो । तर, नौं महिनामा भने ३ खर्ब ७२ अर्ब ५० करोड रुपैयाँ बढेको छ ।

विदेशी मुद्राको सञ्चिति अमेरिकी डलरमा भने २२ प्रतिशत बढेको छ । गत असार मसान्तसम्म यस्तो सञ्चिति ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको थियो । तर, चैत मसान्तसम्म आइपुग्दा भने राष्ट्रिय ढुकुटीमा २ अर्ब ६५ करोड बढेर १४ अर्ब ३६ करोड डलर संचित छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २५.४ प्रतिशत बढेको छ । गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो । तर, चैत मसान्तमा बढेर १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ ।