युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाण्डौँ - म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । योसँगै प्रिमियर लिगको उपाधि होड अन्तिम खेलसम्म पुग्ने निश्चित भएको छ ।

खेलमा लियान्ड्रो ट्रोसार्डले २० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा फर्कन युनाइटेडले धेरै प्रयास गरे पनि टोलीले आर्सनलका गोलकिपर डेभिड रायालाई धेरै दबाब दिनै सकेन ।

अब आर्सनलले मंगलबार हुने खेलमा टोटनह्याम हटस्पर्सले म्यानचेस्टर सिटीलाई हराओस् भन्ने प्रार्थना गर्नुपर्नेछ । अन्तिम खेलमा आर्सनलले घरेलु मैदानमा एभर्टनको आतिथ्य गर्नेछ भने सिटीले वेस्ट ह्यामसँग भिड्नेछ ।

३७ खेलबाट आर्सनलको ८६ अङ्क छ । एक खेल कम खेलेको सिटीको ८५ अङ्क रहेको छ । लिभरपुल ३६ खेलबाट ७८ अङ्क बटुल्दै तेस्रो स्थानमा सीमित रहेको छ ।