स्वास्थ्यमन्त्रीमा प्रदीप यादव नियुक्त 

 काठमाडौँ - स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन् । जनता समाजवादी पार्टीका सचिव यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री यादवले सोमबार नै राष्ट्रपति कार्यालयमा मन्त्रीको सपथ खाएका छन् । मन्त्रीको सपथ खाए लगत्तै उनी मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्री पद रिक्त थियो । उक्त पदमा अशोक राई नेतृत्वको जसपाका सांसद प्रदीप यादव मन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री यादव पर्सा १ बाट निर्वाचित सांसद हुन् ।
यसैगरी, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान नियुक्त भएकी छिन् । उनले पनि सपथ लिइसकेकी छिन् ।