'नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हो' : राष्ट्रपति पौडेल

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । 

नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताए । 

“नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भने , “मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।”