'नयाँ बर्षले देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुनेछ' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् । 

नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनु अहिलेको मुख्य प्राथमिकता भएको बताए । 

उनले यी प्राथमिकता तथा प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विश्वास व्यक्त गरेका छन् । मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वोपरि लक्ष्य रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।