एसीसी वुमन्स प्रिमियर कप : माल्दिभ्सविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौँ - नेपालले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमानी जित हात पारेको छ । नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङमा नेपाल विजयी भएको हो ।  

मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो । जितको लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अल आउट भयो । माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाइन् ।

माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए । यो नेपालको महिला टी–२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि २०२१ मा कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो । नेपालको जितमा अश्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । पूजा महतोले ३ ओभरमा २ मेडनसहित २ रन खर्चेर ३ विकेट लिइन् । रुविना क्षेत्रीले ३।५ ओभरमा २ रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । लगातार ३ जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।