महिला भलिबल टोलीको प्रशिक्षकमा बेल्जियमका ब्रान्ट नियुक्त

काठमाण्डौँ - बेल्जियन प्रशिक्षक जान डे ब्रान्ट नेपाली महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल भलिबल संघलाई प्राविधिक सहयोग गर्ने क्रममा अन्तर्राष्ट्रिय भलिबल महासंघले डे ब्रान्टलाई ६ महिनाका लागि नियुक्त गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

‘सबै प्रक्रिया पूरा भएर डे ब्रान्ट नियुक्त भएका हुन् । उनी फागुनको दोस्रो सातासम्म आइपुग्ने सम्भावना छ,’ चन्दले भने,‘अहिलेको स्तरमा बृद्धि हुन्छ भन्ने अपेक्षाका साथ लामो समयका लागि प्रशिक्षक नियुक्त गर्ने हाम्रो उद्देश्य हो । त्यसै अनुसार महासंघलाई आग्रह गरेका थियौं, त्यहि अनुसार ६ महिनाको नियुक्त भएको छ ।’ पारिश्रमिक महासंघले तथा आन्तरिक खर्च भने संघले बेर्होने चन्दले बताए ।

संघको आयोजनामा २०८० जेठमा काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता आयोजना हुँदैछ । त्यसका लागि अर्को साताबाट नेपाली टोलीको प्रशिक्षण सुरु हुने भएको छ । यो ६ महिनाको अवधिमा ग्रान्टले महिला टोलीसँगै पुरुष टोलीलाई पनि प्रशिक्षण दिनेछ ।