कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौँ - नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्ड आज उद्घाटन भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज सो आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइनको उद्घाटन गरे । उक्त खण्डको निर्माण सम्पन्न गरी गत असोज अन्तिमदेखि प्रसारण लाइन सञ्चालनमा ल्याइएको थियो ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नयाँ बुटवल सबस्टेसनसम्मको करिब एक सय ३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले करिब एक हजार दुई सय मेगावाट विद्युत् भार बोक्न सक्ने छ ।