सन्दीप लामिछानेको मुद्दामा बिहीबार सुनुवाइ नहुने

 काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि मुद्दाको पेसी रहे पनि न्यायाधीश अभावको कारण देखाउँदै अदालतले सुनुवाइ स्थगित गरेको हो । 

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जिल्ला अदालतमा ३० जना न्यायाधीशमध्ये बिहीबार २१ जना मात्रै उपस्थित छन् । उपस्थित नभएका ९ जनामध्ये ६ जना अन्य जिल्ला अदालतबाट सरुवा भएर हाजिर हुन आएका छैनन् । ३ जना न्यायाधीश भने बिदामा बसेका छन् । 

सन्दीपविरुद्धको मुद्दामा यसअघि यही असोज ४ गते, आइतबारका लागि पेसी तोकिएको दिन पनि अदालत आफैंले स्थगित गरेको थियो । 

सन्दीप विरुद्धको बलात्कारको मुद्दामा यसअघि पटक(पटक अन्तिम फैसलाका लागि पेसी तोकिए पनि फैसला नभई सर्दै आएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । 

१८ वर्षभन्दा कम उमेरकी महिला किशोरीमाथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।