सम्बन्धविच्छेद माग गर्दै अदालत गए सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर अदालत पुगेका छन् । राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन् ।

राउतले गत भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन् । उनले ‘अंश र सम्बन्धविच्छेद’ शीर्षकमा मुद्दा दायर गरेको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन् । उनकी श्रीमती रानी भारतीय नागरिक हुन् । उनी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएको, लगायतका विषयहरू उल्लेख गरेका छन् ।

उक्त मुद्दामा अहिले जिल्ला अदालतले म्याद तामेलीको तयारी गरिरहेको छ । राउतले मुद्दामा ‘अंश’ दिएर राख्न पनि आफू तयार रहेको फिरादपत्रमा उल्लेख गरेका छन् । जिल्ला अदालतका अनुसार प्रतिवादी सिन्धुको म्याद तामेलीपछि मात्र यो विवादमा पेसी सुरु हुने छ । दुवै पक्षको जवाफ आएपछि जिल्ला अदालतले सम्बन्ध विच्छेद हुने वा नहुने निर्णय सुनाउने छ ।

उनीहरूका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन् ।