दशैँका लागि हवाई टिकट बुकिङ सुरु    

काठमाडौँ । दशैं आउन एक महिना बाँकी रहँदा यात्रुले  हवाई टिकट बुकिङ गर्न थालेका छन्। 

एयरलाइन्सहरूले दशैंका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दशैंलाई भन्दै अग्रिम बुकिङ थालिसकेका हुन्।

वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ। सङ्घका प्रवक्ता मुरारीधर जोशीले​ दशैंलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको बताए।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले दशैंका लागि अहिले ६० प्रतिशतसम्म बुकिङ भइसकेको र अहिलेलाई घटस्थापना र फूलपाती आसपासका टिकटमा यात्रुको चाप देखिएको बताए।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले अहिले ८० प्रतिशत जहाज भरिभराउ भएर उडान गरिरहेको र दशैंलक्षित बुकिङसमेत सुरु भएको जानकारी दिए।