बैंक तथा वित्तीय संस्थाको ५३ अर्ब बढी नाफा, कसको कति ? 

काठमाडौँ - चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब बढी नाफा कमाएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको वैशाखसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले कुल ५३ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

यसमा क वर्गका वाणिज्य बैंकले यो अवधिमा ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै विकास बैंकले ४ अर्ब १७ करोड र फाइनान्स कम्पनीहरूले ४१ करोड रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक पहिलो नम्बरमा छ भने नेपाल बैंक नाफाका आधारमा पछाडि छ ।

चालु आवको १० महिनामा नबिल बैंकले ५ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेर अग्रस्थानमा आउँदा सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड ५९ करोड रुपैयाँसहित अन्तिम स्थानमा छ । यस्तै नाफा कमाउनेमा ४ अर्ब १२ करोड रुपैयाँसहित ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ३ अर्ब ७७ करोड रुपैयाँसहित तेस्रो नम्बरमा छ ।