रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

 काठमाडौँ - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आइतबार युवराज सफलले उक्त पार्टी खारेजीको माग गर्दै  निर्वाचन आयोगमा निवेदन दिएका हुन् । २०७९ असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको रास्वपाले कानूनी प्रक्रिया नपुर्‍याएको भन्दै उनले निर्वाचन आयोगमा खारेजी गर्न निवेदन दिएका हुन् ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५ को उपदफा च को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं २ को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा उल्लेख गरिएको छ ।

रास्वपाका सभापति रहेका रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलाशले गएको माघ १३ गते अवैध ठहर गरेको थियो । उनको नागकिता अवैध भएसँगै उनी सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका थिए ।