रोजगारीका लागि बेलायत जाने ४५ नर्स छनोट, कति हुन्छ तलव ?

काठमाडौं - रोजगारीका लागि बेलायत जाने ४५ नर्स छनोट भएका छन्। अन्तर्वार्तामा सहभागी ६० जना नर्स मध्येबाट ४५ जनालाई छनोट गरिएको हो।

सुरुमा १०० जना नर्स पठाउने बेलायत सरकारसँग सन् २०२२ अगस्टमा समझदारी भएको थियो। सोही समझदारी अनुसार पठाउन आवेदन खुलाउँदा ७७१ जनाले फारम भरेका थिए।

७८ जनाको आवेदन स्वीकृत भएको थियो। सन् २०२४ को पहिलो त्रैमासदेखि छनोट भएका नर्स बेलायत जान थाल्नेछन्।

छनोट भएर गएका नेपाली नर्सले तीन महिनाको एउटा तालिम लिनुपर्नेछ । उक्त तालिमबाट योग्य बनेपछि मात्र नेपाली नर्सहरूले त्यहाँका स्वास्थ्य संस्थामा काम गर्न पाउने छन्।

नेपाली नर्सहरूले पनि बेलायतमा दर्ता भएपछि त्यहाँका दर्ता भएका नर्सले बराबर तलब पाउनेछन् ।

सम्झौता अनुसार उनीहरुको तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड (करिब साढे ५१ लाख रुपैयाँ) सम्म पाउन सक्छन् । त्यसबाहेक उनीहरूले २७ दिनको वार्षिक र सार्वजनिक बिदा पाउनेछन्।