भूकम्पका कारण करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति

काठमाडौँ - भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपन्छीको क्षति भएको बताए । उनका अनुसार उक्त क्षेत्रमा रु एक करोड सात लाख बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दुवै जिल्लामा छ सय छ घाइते पशुको उपचार गरिएको छ भने जाजरकोटमा मात्रै पाँच सय ९२ पशुको उपचार गरिएको छ ।

उहाँका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ । कृषि बाली तथा पशुपन्छी बीमा भएका कृषकको क्षतिपूर्ति दाबी बीमा कम्पनीबाट हुनेछ । विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक मापदण्ड बनाइने उनको भनाइ छ । प्रदेश तथा स्थानीय तहले पनि क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड बनाएको भन्दै  प्रभावितलाई एकद्वार प्रणालीमार्फत सो प्रदान गरिने उहाँले जानकारी दिए ।  

मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो । भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिए । 

मन्त्रालयका पशुपन्छी अधिकृत पूर्ण बुढाका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा। लक्ष्मीनारायण दास नेतृत्वको टोली जाजरकोट, डा राकेश प्रजापतिको नेतृत्वको टोली रुकुम पश्चिम पठाइएको छ ।