आज धन्वन्तरि जयन्ती मनाइँदै

काठमाडौँ - प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरि जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । 


बिहान त्रयोदशी तिथि परेका दिन धन्वन्तरि जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दु ग्रन्थमा गरिएको छ ।


आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । 

त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो ।

विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रुपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । 

धन्वन्तरि जयन्ती एवं आरोग्यता दिवसका अवसरमा  भगवान् धन्वन्तरीको पूजा आराधना हुने गर्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा वि सं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा पनि मनाउन थालिएको हो ।