महँगी घट्यो, रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि

 काठमाडौँ - मुलुकको वर्तमान आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा अर्थतन्त्र सकारात्मक रहेको देखाएको हो ।

मुलुकको अर्थतन्त्रमा समस्या र चुनौतिका कारण संकट पुग्न लागेको भनिए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कले सकारात्मक देखाएको छ । चालु वर्षको जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १.७३ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा महँगी घटेको हो ।

यो वर्षको जेठ महिनामा मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । त्यस्तै, रेमिट्यान्स नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको बैंकले जनाएको छ । यस्तै शोधनान्तर स्थिति पनि वचतमा देखिएको छ ।

यस्तै, वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको छ । आयात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ । विदेशि विनिमय सञ्चिति २१.८ प्रतिशतले बढेकोे छ ।

चालु आर्थिक वर्षको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई जेठ मसान्त आइपुग्दा १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८।८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ ।चालु आर्थिक वर्षको आठ महिनामा काठमाडौं उपत्यकाको मूल्यवृद्धि ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत रहेको छ ।

२०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा रेमिट्यान्स ११ खर्ब रुपियाँ नाघेको छ । चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।

पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार चार १५ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २ सय ६२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार ११ महिनामा वस्तु निर्यात २२.७ प्रतिशत घटेको जनाएको छ । जसमा वस्तु आयात १४ खर्ब ३ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो ।

भारततर्फ हुने निर्यातमा ३२.२ प्रतिशतले कमी हुँदा चीनतर्फ १०६.७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, तयारी पोशाकको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको बैंकले जनाएको छ ।

त्यस्तै, आर्थिक वर्षको एघार महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड कायम भएका छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट १४.८ प्रतिशत, चीन १७.१ प्रतिशत तथा अन्य मुलुकबाट १८.५ प्रतिशतले कमी आएको छ । गोरखापत्र दैनिकबाट