कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री खुला

 काठमाडौँ - कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

अब २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन् ।