सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने धेरै अनियमितता हुने क्षेत्र हो : मन्त्री शर्मा  

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको बताएकी छन्।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले  सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने क्षेत्र र धेरै अनियमितता हुने क्षेत्र रहेको बताइन्।

उनले अनियमिततालाई नियन्त्रण गर्न यो क्षेत्रलाई आमजनताले बुझ्न सक्नुपर्ने बताइन्। उनले यस क्षेत्रको अनियमितताबारे सबैतिरबाट खबरदारी हुनुपर्नेमा जोड दिइन्।

उनले यो क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा बढी अनियमितता हुने गरेको स्विकारिन्। उनले विगतका नीति, नियम, कानून समयसापेक्ष बनाई नागरिकलाई सचेत गराउन आवश्यक रहेको बताइन्।

उनले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाका रुपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको बताइन्।

सूचना र प्रविधिको क्षेत्रका समस्या समाधान र अनियमितता हटाउन मन्त्रालयको नेतृत्वमा कार्यदल बनाएर जाने कुरामा छलफल भइरहेको जानकारी दिइन्। सूचना, प्रविधि दशकका लागि कार्यदलले क्रमशः के गर्दै जाने भन्ने एजेण्डा कार्यदलले बनाउने बताइन्।

मन्त्री शर्माले भनिन्, ‘सूचना र प्रविधिको क्षेत्र भनेको आम जनताले नबुझ्ने क्षेत्र र असाध्यै धेरै अनियमितता हुने क्षेत्र हो। त्यो अनियमिततालाई नियन्त्रण गर्न के गर्नुपर्छ भने यो क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्छ। सबैतिरबाट खबरदारी हुनुपर्छ। जसरी अन्य क्षेत्रमा हुने अनियमितताको विषयमा सबै जानकार हुन्छन् तर यो क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा रहेछन्। त्यसकारण हाम्रा विगतका नीति, नियम, कानून र जनतालाई सचेत गराउने कुरा मुख्य कुरा हो।’

मन्त्री शर्माले २०७६ सालमा शुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन्।
 


  अघिल्लो