यस वर्षको एसईई परीक्षा तोकिएकै तालिका अनुसार सञ्चालन हुने

काठमाडौँ - यसबर्षको माध्यमिक शिक्षा परीक्षा तोकिएकै तालिका अनुसार चैत्र महिनाको पहिलो सातादेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जाजरकोट र रुकुम जिल्लामा आएको भूकम्पका कारण त्यहाँका बालबालिकाले पढ्न नपाएको भन्दै परीक्षा सर्छ की भन्ने हल्ला निराधार रहेको भनेको छ ।

भूकम्पका कारण ती दुई जिल्लामा कक्षा १० को परीक्षा दिने विद्यार्थीमध्ये करिब २ हजार ७ सय विद्यार्थी बढी प्रभावित भएपनि त्यहाँ पठनपाठन भैरहेको र विद्यार्थी तथा शिक्षकहरुले परीक्षामा सहभागी हुने बताएको पनि बोर्डले जनाएको छ ।

शिक्षा पत्रकार सञ्जाल इजोनद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले भूकम्पका कारण क्षतिग्रस्त बनेका विद्यालयमध्ये १(२ वटाको मात्र परीक्षा केन्द्र सार्नुपर्ने अवस्था देखिएको पनि बताए । 

त्यस बखत कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस पटकको परीक्षामा रजिष्ट्रेशनका आधारमा ४ लाख ९० हजार परीक्षार्थी परीक्षामा सहभागी हुने बताए । 

यसैगरि खुल्ला शिक्षाका र रजिष्ट्रेशन फारम भर्न बाँकी रहेका विद्यार्थीको संख्या आउन बाँकी रहेकाले परीक्षा दिने विद्यार्थी बढ्न सक्ने अनुमान कार्यालयले गरेको छ ।