आजको शेयर बजार : नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

 काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अंकले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।

आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो। एघार बजेर २५ मिनेटमा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो ।

परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर ७ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको हो ।

हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ। त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घन्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन हुने व्यवस्था छ ।

सो व्यवस्थाअनुसार आजको कारोबारमा छ प्रतिशतको वृद्धि देखिएसँगै दिनभरिका लागि कारोबार स्थगन गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए ।