संशोधनबिनै भारतसँगको वाणिज्य सन्धि नवीकरण

काठमाण्डौँ - भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनबिनै नवीकरण भएको हो ।

भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए । “हरेक सात वर्षमा नवीकरण गर्नुपर्ने सन्धिकै व्यवस्थाअनुसार स्वतः नवीकरण भएको छ । सन्धि संशोधन र पुनरावलोकनको विषय उठिरहे पनि यसपटक भएन तर बीचमा संशोधन गर्न सकिन्छ”, उनले भने , “हामी दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकको तयारी गरिरहेका छौँ । त्यसबेला पनि यो विषय उठाउन सकिन्छ ।” 

नेपाल र भारतबीचको पारबहन सन्धिबीचमा पनि संशोधन भएको उल्लेख गर्नुहुँदै सहसचिव तिवारीले वाणिज्य सन्धि पनि सोही अवधारणामा बीचमा पनि संशोधन गर्न सकिने बताए । नेपाल र भारतबीच सन् १९७८ मा भएको वाणिज्य सन्धि पछिल्लो पटक सन् २०१६ अक्टोबर २०७३ कात्तिकमा नवीकरण भएको थियो । 

हरेक सात वर्षमा नवीकरण हुने सन्धिमा अघिल्लो पटक पनि कुनै संशोधन भएको थिएन । तर त्योबेला पनि वाणिज्य सन्धि संशोधनबिनै नवीकरण भएको भन्दै आलोचना भएको थियो । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार हुने मुलुक भारत भएकाले सबैभन्दा बढी व्यापार घाटा पनि भारतसँगै छ । त्यस्तो व्यापार घाटा कम गर्नका लागि वाणिज्य सन्धि पुनरावलोकन गर्न आवश्यक रहेकाले लामो समयदेखि कुरा उठिरहेको थियो ।

लामो समयदेखि यो सन्धि संशोधन र परिमार्जन नहुँदा नेपालले वैदेशिक व्यापारका क्षेत्रमा विभिन्न समस्या भोग्नुपरेको पूर्ववाणिज्य सचिव चन्द्रकुमार घिमिरेले बताए । सन्धि नवीकरणका लागि सन् २०१८ मा नेपालले प्रक्रिया सुरु गरे पनि त्यो पूर्ण नभई बीचैमा रोकिएको र अहिले संशोधनबिनै सन्धि नवीकरण हुनु नेपालको हितमा नरहेको उहाँको भनाइ थियो ।