विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो

काठमाण्डौँ - चालु आर्थिक वर्षको तीन महिनामा विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले बढेर असोज मसान्तसम्ममा १६ खर्ब ४३ अर्ब नौ करोड रुपैयाँ पुगेको छ ।

यस्तै असोज मसान्तसम्मको शोधनान्तर स्थिति ९९ अर्ब सात करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो ।