यो साताको सेयर बजार : उतारचढावबीच सामान्य बढ्यो नेप्से, साढे ८२ अर्बको कारोबार

काठमाडौँ -  उतारचढावका बीच यस साता पनि सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । साताको ४ दिन मात्र कारोबार भएको बजारमा नेप्से परिसूचक १०.७६ अंकले बढेको हो । अघिल्लो साता १८७.४८ अंकले बढेको नेप्से परिसूचक यता साता भने खुम्चिएको हो ।

सरकारले साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको थियो । त्यसैले सेयर बजार पनि बन्द भयो। सोमबार सेयर बजार ४०.२६ अंकले बढ्यो। मंगलबार बजारमा पहिरो नै गयो । मंगलबार नेप्से परिसूचक १४५.३५ अंक अर्थ ५.१८ प्रतिशतले घट्यो ।  बुधबार पुनस् बजारमा ब्याकबाउन्स देखियो ।

बुधबार नेप्से परिसूचक १०८.३५ अंकले बढ्यो भने अन्तिम कारोबार दिन विहीबार ६.७० अंकले बढ्यो । यसरी यस साता सेयर बजार २७६६.३८ बिन्दुमा रोकियो ।

यो साता पुँजी बजारमा १६ करोड ५१ लाख ८६ हजार कित्ता सेयर ८२ अर्ब ७१ करोड ३१ लाख ६५ हजार रुपैयाँ किनबेचभयो ।

सोमबार ४ करोड ४२ लाख ५३ हजार कित्ता सेयर २१ अर्ब ६९ करोड ७९ लाख रुपैयाँमा किनबेच भयो । मंगलबार हालसम्मै उच्च कारोबार भयो । त्यस दिन २३ अर्ब ५० करोड ३२ लाख रुपैयाँ बराबरको ४ करोड ७१ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भयो ।

बुधबार ३ करोड ३८ लाख ५१ हजार कित्ता सेयर १७ अर्ब ६९ करोड २२ लाख ६९ हजार रुपैयाँमा किनबेच भयो । अन्तिम दिन बिहीबार ३ करोड ९९ लाख १९ हजार कित्ता सेयर १९ अर्ब ८१ करोड ९६ लाख ९५ हजार रुपैयाँमा किनबेच भयो । अघिल्लो बिहीबार ४३ खर्ब ८० अर्ब ७७ करोड रहेको कुल बजार पुँजीकरण यो बिहीबार ४३ खर्ब ९१ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ। बजारमा सामान्य वृद्धि हुँदा लगानीकर्ताले १० अर्ब ३२ करोड रुपैयाँ कमाएका छन् ।