तालको पानी पसेर घरभित्रै फसेका चार जनाको उद्धार  

काठमाडौँ । कास्कीमा डुबानमा फसेका एकै परिवारका चार जनाको उद्धार भएको छ । पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तले घर डुबानमा परेको थियो ।

उक्त घरमा फसेका एकै परिवारका चार जनाको बुधबार बिहान उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गुल्मी घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीको उद्धार भएको हो । तालको पानीको सतह बढेपछि उनीहरू घरभित्र प्रवेश गरेका थिए । तर घरसमेत डुबानमा परेपछि सशस्त्र प्रहरी बललाई बोलाइएको थियो ।

सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो ।