स्थिर राजनीति र ठोस आर्थिक नीति नभए देश बन्दैन : डा. भट्टराई  

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीतिबिना देश बन्न नसक्ने बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए। उनले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिएर मात्रै देश विकास गर्न सकिने बताए।

उनले कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशतभन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५-४० प्रतिशतसम्म पुर्‍याउने र सेवा क्षेत्रलाई ५०-५५ प्रतिशतमा पुर्‍याउनसके मात्रै देश विकास सम्भव हुने बताए।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा गई त्यसको मातहतमा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हासिल गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताए।
 
पूर्वप्रधानमन्त्री डा.भट्टराईले चीन र भारतसँग औद्योगिकीकरणमा तालमेल गरेर अघि बढ्न आवश्यक रहेको बताए।