मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण असारसम्म सकिने

 काठमाण्डौँ - मध्य भोटेकोशीको बाँध, बालुवा थिग्य्राउने पोखरी लगायतका मुख्य संरचना (हेडवर्क्स) को निर्माण सम्पन्न भएको छ। हाल हेडवर्क्स क्षेत्रको सम्भारको कार्य भइरहेको छ। आयोजनाको ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको जनाइएको छ।

विद्युतगृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ। विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्म करीब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावर निर्माण भएका छन् भने तार तान्न बाँकी रहेको छ।

२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करीब साढे पाँच महीना नेपाल–भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढीपहिरो र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो।