नागढुंगामा स्थानीय र प्रहरीबीच झडप, के थियो कारण ? 

 काठमाडौँ - नागढुंगामा स्थानीय र प्रहरीबीच झडप भएको छ । शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए । अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन् ।

प्रहरीले चन्द्रागिरी नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित ८–९ जनालाई नियन्त्रणमा लिएको छ । अहिले नागढुंगामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सवारी आवागमन पनि दुइतर्फी नै सञ्चालनमा आएको छ ।

शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोहीतर्फ जाँदै गरेको प्र ३–०१–००६ ख १३०८ नम्बरको गाडीले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी–२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको थियो । घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थानकोट वृत्तमा राखेको छ । प्रहरीले यथाशिघ्र ठक्कर दिने ट्रकको सम्बन्धित समितिसँग छलफल गर्ने व्यवस्था मिलाउने भनेपछि स्थानीयले अवरोध खोलेका थिए ।