प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट खर्च असुल गरिनुपर्छ : सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहको तयारीका क्रममा गरिएको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गरिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको अनुपस्थितिले अन्तिम समयमा दीक्षान्त समारोह रोकिएको विषयमा यस्तो आक्रोश पोखेका हुन् ।

“सम्पूर्ण तयारी पूरा भएपछि प्रधानमन्त्रीले म आउँदिनँ, दीक्षान्त सार भनेर आदेश दिनुभयो, हुकुमी शासन हो ? त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गरिनुपर्छ,” उनले भने ।

बिरामी वा प्रतिकूल मौसमको अवस्थामा अनुपस्थित हुँदा स्वीकार्य हुने भन्दै उनले त्यस्तो अवस्था नरहेको बताए । “भ्यु टावर भए दौडेर जानहुन्थ्यो होला, प्रतिष्ठान भयो, जानु भएन,” उनले थपे ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्नातक तहको परीक्षा रोकिएको विषयमा आफ्ना भातृसंगठनलाई सम्हाल्न पनि सांसद शाहीले ठूला दललाई सुझाव दिए ।