कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले

 सुर्खेत - कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ ।  सरकारमा सहभागी ३ जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री शर्मालाई भेटेर राजीनामा बुझाएका छन् ।

गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।