३७ भन्दा बढी मुलुकका पराखीको धीत मार्दै नेपाली चिया

काठमाण्डौँ - नेपाल अधिकतर वस्तुमा परनिर्भर छ । बर्सेनि खर्बीको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा उत्पादित चियाको स्वादले विश्व बजारका उपभोक्तालाई आकर्षित गरिरहेको छ ।

यहाँ उत्पादित चिया गुणस्तरीय भएकैले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र अहिले ३७ बढी मुलुकमा निर्यात हुन थालेको छ । नेपालको चिया छिमेकी मुलुक भारत, चीनमा मात्र होइन सात समुद्रपारि अमेरिका, क्यानडासम्म निर्यात भइरहेको छ ।

पछिल्लो पटक चीनमा आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली बगानको चियाको स्वाद र महक अब्बल ठहरिएको थियो। चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेपछि यसको प्रचारप्रसारले व्यापकता पाउँदा माग बढ्न थालेको छ ।

इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेको थियो । यस प्रतिस्पर्धामा गुणस्तरीय ठहरिएपछि विश्वका चिया पारखीको ध्यान नेपाली चियातर्फ थप आकर्षित भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै गएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । ुयहाँको चिया गुणस्तरीय भएकाले विश्व बजारमा प्रभाव बढ्दै गएको छ चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भने, ुयो हाम्रा लागि ठुलो अवसर हो।ु मुलुकले ठुलो व्यापार घाटा व्यहोरिरहेको अवस्थामा निर्यात बढेको छ ।

मुलुकको कुल निर्यात व्यापार घटिरहेको अवस्थामा चियाको निर्यात बढेको छ । पोहोरको तुलनामा चियाको निर्यात ३६ प्रतिशतले बढेको छ,ु कार्यकारी निर्देशक भट्टराईले भने चीनको प्रतिस्पर्धामा अब्बल ठहरिएपछि पछिल्लो समय माग ुअझै बढेको छ।ु यो समाचार नागरिक दैनिकमा  छ ।