ठगी, भ्रष्टाचार गर्नेलाई समात्दा राजनीतिक दबाब दिने काम नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौँ ।उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठगी, भ्रष्टाचार गर्नेहरूलाई समात्दा वक्तव्यबाजी  र राजनीतिक दबाब दिने काम नगर्न आग्रह गरेका छन् ।

शुक्रबार अध्यागमन विभागको ई–भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै गृहमन्त्री श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् । उनले नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रिपरिषद्‌बाट पास गरी संसद्‌मा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको पनि बताए ।

 ०७६ सालमा पारित भएको प्रहरी समायोजन ऐनलाई केही संशोधन तथा परिमार्जन गर्न जरुरी छ र त्यसका लागि पनि विधेयक तयार भइसकेको छ, उनले भने । 

०७६ मै पारित भएको नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय ऐनमा पनि केही संशोधन गर्नुपर्ने भएकाले त्यसलाई पनि संसद्‌मा पेस गर्न लागेको बताए ।