विमानस्थल बनाउन भन्दा सञ्चालन गर्न थप कठिन हुन्छ : मन्त्री किराती

काठमाडौँ ।  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालमा विमानस्थल बनाउन सजिलो नभएको र निर्माण भइसकेपछि सञ्चालन गर्न थप कठिन रहेको बताए ।

शुक्रबार उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तरिक विमानस्थलको निरीक्षण अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री किरातीले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयलाई लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने बताए ।

नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि सञ्चालन गर्न नसकिएको बताए । उनले उक्त विमानस्थलमा क्रस बोर्डर फ्लाइट र माउन्टेन फ्लाइटबाट भने केही सम्भावना हुने धारणा राखे ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान सम्पन्न भएको छ । १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलका लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा रुख कटानबाहेकका काम अघि बढ्न सकेको छैन । तीन अर्बभन्दा बढी निर्माण लागत लाग्ने विमानस्थलमा यस वर्ष पाँच करोड विनियोजन भएको जनाइएको छ ।